महतो निवास नजिकै बम विस्फोट गराउने राईन गिरफ्तार

जनकपुर । राजपाका नेता तथा धनुषा क्षेत्र न ३ बाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै वम विस्फोट गराउने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ । यही मंसिर ९ गते महतोको निवास नजिक रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराईएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले घटनामा संलग्न नेपाली कांग्रेसका सक्रिय सदस्य धनुषाधाम नगरपालीका वडा न ५ बस्ने ३४ वर्षको रहमत राइनलाई पक्रेको हो । पक्राउ परेका राईनलाई धनुषा जिल्ला अदालतबाट बम बिस्फोट गराएको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यी उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाए

ललितपुर। ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्रमै भएको (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् । दोस्रो संविधानसभामा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदय शमशेर राणाले यस पटक भने आफूलाई भोट हालेका छन् । उनले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका हुन् । उनले यसअघि कुपण्डोलमा मतदान गर्दै आएका थियो । वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् । क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की प्रवक्तासमेत रहनुभएकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गरे । प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गर्नुभएको छ । प्र्रदेशसभातर्फ, क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबाराही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरेका छन् । प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे । क्षेत्र नं २ क र ख का उम्मेदवार पवनविक्रम थापाले इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरे । एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरेका छन् । प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे । प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए । जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । रासस

उम्मेदवारले दिए पत्रकारलाई चुनावलगत्तै ‘ठिक पार्ने’ धम्की, पत्रकार महासंघ सप्तरीद्वारा भत्सर्ना

राजविराज । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई बताएका छन् । सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ । एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’, पासवानले भने, “आफूले मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै कारण उहाँले धम्की दिनुभएको छ ।” मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ । यद्यपि आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको उनले भने । यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताएका छन् । पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको राससलाई बताए । यस सम्बन्धमा उम्मेदवार मण्डलसँग राससले सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । रासस