खारेजीमा परेको स्कूल तारिफ गर्न लायक बन्यो, अहिले सबैले भन्छन्: वाह ! यस्तो पो स्कूल
खोटाङ ११, माघ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले पनि कल्पना गरेका थिएनन् । कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर। समयले यसरी कोल्टे फेर्यो कि पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला, हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल। डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ। फाइल तस्बिर तीन शिक्षकको दरबन्दी रहेको विद्यालयमा ७ जना विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेजी गरेको थियो। तर अभिभावक र विद्यालय व्यवस्थापनको मिहेनतले अहिले कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने नमुना विद्यालयको रूपमा नाम कमाएको छ जनजागृतिले। स्कुल खारेजी भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर विद्यालय फेरि सञ्चालनमा ल्याइयो। शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने। तत्कालै शिक्षण विधि फेरियो। पढाई कक्षामा होइन स्थलमै लगेर विद्यार्थीलाई सिकाउने गरियो। ‘अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाय हुने गरेको छ। जमिन जंगल र जलसम्मको पठनपाठन हुन्छ,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमा गएर सबै बारीसम्बन्धी शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिलै भुल्दैनन्।’ जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताए। कान्तिपुर दैनिकबाट ।
स्ववियु चुनावका लागि विद्यार्थी ताते, विद्यार्थी आगाडि, त्रिवि पछाडि
काठमाडौं ९, माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ । त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ । अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन । त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन् । चुनावको कार्यतालिका ल्याउन ढिलाइ भएकोमा असन्तुष्टि त्रिविले कार्यतालिका सार्वजनिक गर्न ढिलाइ गरेकामा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आश्चर्य व्यक्त गरिन् । ‘हामी विद्यार्थी संगठन चुनावमा होमिएका छौँ, विश्वविद्यालयले कार्यतालिका ल्याउन किन ढिलाइ गरेको हो, अचम्म लाग्यो,’ उनले भनिन् । त्रिविका पदाधिकारीहरू धेरै विदेश उडेकाले ढिलाइ भएको उनको आरोप छ । नेविसंघमा २८ वर्षे उमेर हदबन्दीमा केही नेताको गुनासो रहे पनि संगठनले चुनावमा जाने तयारी गरेको छ । संघका अध्यक्ष नैनसिंह महरले अहिलेकै अवस्थामा पनि चुनावमा जाने बताए । संघका महामन्त्री कुन्दन काफ्लेले २८ वर्षे उमेर हदबन्दीमै चुनावमा जाने भन्दै शनिबार विज्ञप्ति जारी गरेका छन् । ठूला तीन संगठनको तयारी अनेरास्ववियु नवीना लामा, अध्यक्ष, अनेरास्ववियु स्ववियु चुनावको तयारीका लागि उपाध्यक्ष महेश बर्तौलालाई जिम्मेवारी दिएका छौँ । आन्तरिक रूपमा गृहकार्य गर्दै छौँ। १३ माघमा बसेको विस्तारित बैठकले निर्वाचनसम्बन्धी रणनीति बनाएको छ । चुनावको तयारीका लागि सबै कमिटीलाई बैठक राख्न निर्देशन दिइएको छ, विद्यार्थीको स्वागत कार्यक्रम गर्दै छौँ । केन्द्रमा ठूलो भेला गर्ने तयारी गरेका छौँ । प्रचारप्रसारका लागि रत्नराज्य क्याम्पस तोकेका छौँं । नेपाल विद्यार्थी संघ नैनसिंह महर, अध्यक्ष, नेविसंघ स्ववियु निर्वाचनका लागि अध्यक्षको अध्यक्षतामा सात हजार एक मूल तयारी समिति गठन गरिएको छ । ६० वटा आंगिक क्याम्पसमा पठाउने गरी नेताको सूची तयार गर्दै छौँ । स्ववियु चुनावको घोषणापत्र तयार गर्दै छौँ । प्रचारप्रसारका लागि पार्टी र जिल्ला नेविसंघको नेतृत्वसँग समन्वय गर्दै काम भइरहेको छ । अनेरास्ववियु क्रान्तिकारी नरेन्द्र न्यौपाने, अध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी पदाधिकारीलाई क्याम्पसकेन्द्रित कार्यविभाजन गरेका छौँ । स्ववियुकेन्द्रित रणनीति बनाउन सातवटै प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेका छौँ । क्याम्समा जाडो बिदाभरि संगठनको आन्तरिक काम हुँदै छन् । खुलेपछि क्याम्पसकेन्द्रित हुने रणनीति छ । घोषणापत्र तयार भएको छ, केही दिनमै सार्वजनिक गर्छौँ । १ फागुनमा सभापतिका उम्मेदवार सार्वजनिक गर्छौँ । नयाँ पत्रिका दैनिकबाट ।
तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त, आवेदकको कार्ययोजना फाइल खोले स्वास्थ्यमन्त्री गगन थापाले
काठमाडौँ, २९ पुस । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि एक साताअघि खुला दरखास्त आह्वान गरेको थियो । यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । आवेदन दिएका चार चिकित्सकले दुई प्रतिष्ठानमा र एक चिकित्सकले तीनै प्रतिष्ठानमा दरखास्त दिएको चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने बताए । सबैभन्दा बढी १५ जनाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सबैभन्दा कम पाँच जनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने १० जनाले दरखास्त दिएका छन् । प्र्रतिष्ठानका सहकुलपति तथा सर्च कमिटी संयोजक स्वास्थ्यमन्त्री गगनकुमार थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशी सदस्य रहेको कमिटीले सोमबारदेखि दरखास्त दिएकाहरुको कार्ययोजनाबारे छलफल थाल्ने उपसचिव लामिछानेले जानकारी दिए । समितिले दरखास्त दिने ३० जनाले पेस गरेको कार्ययोजनाका आधारमा उपयुक्त व्यक्तिलाई उपकुलपतिका लागि सिफारिस गरेपछि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिको अन्तिम निर्णय गर्नुहुनेछ । रासस