८ दिन लगातार शैक्षिक संस्थाहरु बिदा, वर्षभरीमा ५५ प्रतिशत समय छुट्टी

काठमाडौं । शुक्रबारदेखि आठ दिनसम्म लागि देशभरका शैक्षिक संस्थाहरु बिदा हुनेभएको छ । सरकारले आवश्यकताभन्दा बढी बिदा दिएकाले शैक्षिक गुणस्तरमा ह्रास आउने देखिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ । प्याब्सनका उप महासचिव राजेन्द्र बानियाँका अनुसार अनावश्यक बिदाका कारण यो वर्ष शैक्षिक सत्रको मापदण्डअनुरुप कोटा नपुग्ने देखिएको छ । उनका अनुसार वर्षभरीमा करिब ५५ प्रतिशत समय विद्यार्थीको समय बिदामा बस्ने देखिएको छ । उनले यसपाली १ सय ७० दिन पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताए । सरकारको शैक्षिक सत्र योजना अनुसार वर्षमा १९२ दिन कक्षा सञ्चालन गर्नुपर्ने र २२० दिन शैक्षिक संस्था खोल्नुपर्ने उल्लेख छ । शुक्रबार सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । १६ गते शनिबार परेको छ भने आइतबार किरात धर्मावलम्बीहरुको चाडपर्व उधौली पर्व रहेको छ । त्यस्तै १८ गतेदेखि २२ गतेसम्म गृह मन्त्रालयले निर्वाचनका लागि बिदा दिने घोषणा गरिसकेको छ । लामो समयको सार्वजनिक बिदाको नकारात्मक प्रभाव आगामी एसईई परीक्षामा पनि देखिने बानियाँले बताए । उनले भने, ‘विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने समयमा यत्रो लामो बिदा दिदाँ परिणाम नराम्रो भोग्नुपर्ने निश्चित नै छ ।’ यो वर्ष  माओवादी द्वन्द्वकालपछिको सबैभन्दा बढी बिदा हुने वर्ष भएको बानियाँको दाबी छ । उनले भने, ‘यो वर्ष सबैभन्दा खराब शैक्षिक सत्रको रुपमा देखापरेको छ ।’ सरकारले निर्वाचनका नाममा अनावश्यक बिदा दिएको भन्दै उनले चुनावमा दिने बिदाको भत्सर्ना गरेका छन् । निर्वाचनका लागि विद्यालयलाई मतदान स्थलको रुपमा प्रयोग गर्नु गलत रहेको उनले बताए ।  ‘दशैंतिहारको लामो बिदासँगै यसपाली निर्वाचनको पनि छुट्टै बिदा थपिएको छ । संसारमा काँहीपनि विद्यालयलाई निर्वाचन मतदानस्थलको रुपमा प्रयोग गर्ने चलन छैन,’ उनले भने ।

रुपन्देहीमा सुरु भयो स्मार्ट कक्षा, २१ वटा आधुनिक कम्प्युटरका साथ प्रभावकारी शिक्षा प्रणाली

बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् । कोरिया इन्भाइरोमेन्ट कोर्पोरेशन (के-इको)को १६ लाख रुपैयाँ बराबरको आर्थिक सहायतामा उक्त कक्षा सञ्चालन भएको हो । अहिले विद्यालयमा २१ वटा नयाँ आधुनिक कम्प्युटर तथा बाउन्डरी वाल छन् । चर्चित कोरियाली परवतारोही कप्तान उम होङ गील, के-इकोका चुङचेओङ क्षेत्रका कार्यकारी निर्देशक किम जोङ युब, विद्यालय निरीक्षक लक्ष्मण ज्ञवाली, उपाध्यक्ष तारादेवी यादव, सुण्डी माध्यामिक विद्यालय व्यवस्थापन कमिटीका सभापति अरुण कुमार तिवारी, हेडमास्टर सत्तिश चन्द्रमणी त्रिपाठी लगायतले बुधबार स्मार्ट कक्षाको उद्घाटन गरेका थिए । के-इकोले कम्प्युटर कक्षका लागि २१ वटा फर्निचर पनि उपलब्ध गराएको छ । यस विद्यालयमा मुशहर, लोध, हरिजन, धवाल जस्ता करिब सात सय जना सिमान्तकृत वर्गका विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै, डङ गोकले शैक्षिक सामग्री विकास केन्द्रबाट स्विकृत शैक्षिक सफ्टवेयर सहितको एउटा नयाँ स्मार्ट बोर्ड प्रदान गरेका छन् ।  दुई वर्ष अगाडी कोरियाली अन्तराष्ट्रिय गैरसरकारी संस्था उम होङ गील ह्युम्यान फाउण्डेसनले विद्यालयका पूर्वाधारको निर्माण गरेको थियो । कार्यक्रममा बोल्दै उमले विद्यार्थीलाई नेपालको सक्षम नागरिक बन्नका लागि कडा मिहिनेत गर्न आग्रह गरेका छन् ।  त्यस्तै विद्यार्थीले स्मार्ट कक्षाबाट फाइदा लिन सक्नेमा किमले विश्वास व्यक्त गरेका छन् । उनले भने,’भगवान बुद्धको जन्मभुमी लुम्बिनीमा बस्ने मानिसहरुको सेवा गर्न पाउँदा निकै खुशी लागिरहेको छ ।’

एमबीबीएस प्रवेश परीक्षा रद्द, ८ हजार ८ सय २७ विद्यार्थी तनावमा

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।  प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो । विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।  अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।